Introduction

गौरवमय लिम्बू जाति भित्रका विभिन्न २८० भन्दा बढि थरीहरु मध्येका एक थर खेवा हो । खेवा भित्र तिगेला, माङयाक, आङलावाङ, चोङवाङ, मादेन र तुम्बा छ थरी पर्दछन् । यी सबै थरीका खेवाहरुले दुई खुट्टा हुने पंक्षि खादैनन् । तिगेला जाति तेह्रथुम जिल्लाको ओख्रे, सुदाप र धनकुटा जिल्लाको हात्तिखर्कमा मुख्य रुपमा बसोबास गर्दछन । यस तिगेला जातिको ऐतिहासिक धरोहरको रुपमा विजयपुरका अन्तिम राजा बुद्धिकर्ण राय, बुढासुब्बा (भर्तवीर) (धरानको बुढासुब्बा मन्दिर जहाँ भर्तवीर अल्पिएका थिए), अन्तिम सास रहून्जेल सम्म आफ्नो भूमिको लागि गोर्खा राज्यको विरुद्ध लडाई लड्ने ऐतिहासिक बहादुर लडाकू काङसोरे आदि पर्दछन् । खेवा भित्र छ थरी र खजुम भित्र पनि छ थरी हुने भएकोले यी खेवा र खजुम बसोबास गर्ने इलाकालाई छथर भन्ने गरिन्छ ।

कथा अनुसार लिम्बु भाषामा वेद (बाँसको एक प्रकार) लाई तिवेरा भनिन्छ र आफ्नो परिवारबाट छुट्टिएर वेद घारीमा बसोबास शुरु गर्नेलाई तिवेरा भनियो र विस्तारै यसको अप्रभंस भई तिवेराबाट तिगेला भएको मानिन्छ । तिगेलाहरुको यक ताक्लुङ हो । ताक्लुङ तेह्रथुम जिल्लाको ओख्रे र सुदापको बीचमा पर्दछ । उक्त यक भनी विश्वास गरिने स्थलमा अग्लो डाँडा छ र त्यस डाँडामा तिगेलाहरु चढ्न नहुने विश्वास गरिन्छ ।

हाल तिगेलाहरु विश्वभर छरिएर रहेको अवस्थामा आपसी चिनजान, सरसहयोग र सूचना प्रवाहको निम्ति यो अन्तर्राष्ट्रिय खेवाहाङ तिगेला लिम्बू संगठन International Khewahang Tigela Limbu Association निर्माण भएको हो ।

उद्देश्यहरुः

१. विश्वभर छरिएका तिगेलाहरु वीच आपसमा चिनजान भेटघाट गरी सम्पर्कमा रही रहने ।
२. तिगेलाका ऐतिहासिक धरोहरहरुको खोज एवं संरक्षण गर्ने ।
३. तिगेलाहरुको घटना दुर्घटनाको बारे सूचना प्रवाह गर्ने ।
४. आपतविपत, भवितब्यमा परेकाहरुलाई यथासक्दो सहयोग गर्ने ।
५. अगुवा अभिभावकहरुको योगदानलाई कदर गर्दै युवाहरुको शैक्षिक एवं सर्वाङीण विकासको लागि पहल गर्ने ।
६. तिगेला परिवारको हकहितको लागि सघर्षरत रहने ।
७. भाइचारा सघ सगठन र समुदाय संग समाञ्जस्य कायम गर्दै समाज विकासमा टेवा पुरयाउने ।